काठमाडौं, चैत ७ :

पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ। 

सिन्धुलीका युवराज सफलले काठमाडौँमा घर भएका भएपनि, राज्यकोषबाट घरभाडाबापतको लाखौं रकम बुझेको भन्दै पूर्वराष्ट्रपति दुवैविरुद्ध उजुरी गरेका छन्।

अख्तियारमा दर्ता गरिएको उजुरीमा, यादव र भण्डारीलाई भ्रष्टाचार कसुरको अभियोगमा पक्राउ गरी छानबिन गर्न माग गरिएको छ। छानबिन नभए उनी अदालतसम्म जाने तयारीमा छन्।

यसअघि २०७९/८० आर्थिक वर्षको क्रममा, पूर्वराष्ट्रपति रामवरण यादवको भरणपोषणका लागि राज्यकोषबाट ४६ लाख २५ हजार ६१५ रुपैयाँ खर्च गरिएको छ, जुन समाचारका आधारमा उजुरीमा उल्लेख गरिएको छ।

राज्यकोषबाट पूर्वराष्ट्रपतिहरूको घरभाडा र अन्य भरणपोषणका लागि खर्च गरिएको रकमलाई भ्रष्टाचारको अङ्ग मान्दै छानबिनको माग गरिएको छ।