
नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न र प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत बनाउनका लागि जनसचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । यो अभियान आगामी चैत महिनामा हुँदैछ।
मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध एमालेले यही चैत ११ गते देशैभर सबै वडामा सचेतना कार्यक्रम गर्ने भएको छ ।जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो ।
एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको छ ।
यस्तै चैत १८ गते एमालेले धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्यालीसहित जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने जनाएको छ ।
तयस्तै, चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र तथ्यका आधारमा जनचेतना अभियान चलाउन निर्देशन दिएका छन्।
यो अभियानले संघीय लोकतान्त्रिक गणतन्त्रको महत्त्व र प्रतिगामी हर्कतविरूद्ध जनताको ध्यानाकर्षण गर्नका लागि महत्वपूर्ण भूमिका निभाउने एमालेले विश्वास लिएको छ।