काठमाडौं, चैत १० :

बारा र पर्सास्थित औद्योगिक करिडोर र आमउपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

बाराको अमलेखगन्ज तथा प्रसौनी र पर्साको वीरगन्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण जतिसक्दो चाँडो सक्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

वीरगन्ज क्षेत्रको विद्युत् माग एवं आपूर्ति व्वस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो अवस्थामा संवेदनशील र जिम्मेवार भएर निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

पथलैया-सिमरा-वीरगन्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिको समस्या समाधान र बढ्दो माग पूर्ति गर्न अमलेखगन्ज १३२/६६ केभी सबस्टेसन तयार भएको छ । उक्त सबस्टेसनमा रहने अधिकांश मुख्य उपकरणहरु जडान भइसकेका छन् । अमलेखगन्ज सबस्टेसनलाई आगामी जेठको दोस्रो साता (मे २०२५) भित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् ।

पूर्व-पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगन्ज सबस्टेसनभित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) गर्ने काम सकिएको छ । त्यस्तै हेटौंडाबाट सिमरा-वीरगन्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सबस्टेसनमा लुप इन र लुप आउट गरिसकिएको छ । हेटौंडाबाट गएको ६६ केभी लाइन लामो र क्षमता कम हुँदा सिमरा-वीरगन्ज औद्योगिक करिडोरमा भोल्टेजको समस्या थियो ।

६६ केभी लाइनको लम्बाइ पनि घट्ने र १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्तिको स्रोत हुनेभएपछि अमलेखगन्ज सबस्टेसन सञ्चालनमा आएपछि सिमरा-वीरगन्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार हुनेछ । सबस्टेसनमा १३२÷६६ केभी २०० एमभीए र ६६/११ केभी २० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरु छन् । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ६ वटा फिडर रहनेछन् ।

प्रसौनी तथा वीरगन्ज सबस्टेसन र उक्त सबस्टेसनहरुलाई जोड्ने २.८ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ । भूमिगत प्रसारण लाइन एक महिनाभित्र निर्माण सक्ने गरी काम भइरहेको छ । सबस्टेसनमा उपकरणहरु जडान र बाँकी रहेका सिभिल संरचनाहरुको काम जारी छ ।

भारत र नेपालबीचको रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनलाई प्रसौनी सबस्टेसनमा लुप इन र लुप आउट गरिनेछ । उक्त सबस्टेसनबाट भूमिगत प्रसारण लाइनमार्फत वीरगन्ज सबस्टेसनमा विद्युत् आपूर्ति दिइनेछ । हाल वीरगन्जमा चालु रहेको ६६/३३/११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी बनाउन लागिएको हो ।

सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न भएपछि वीरगन्ज क्षेत्रमा विद्युत् आपूर्तिका लागि १३२ र ६६ केभीको स्रोत हुनेछ । १३२ र ६६ केभी सबस्टेसन अन्तरआबद्ध हुने भएकाले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउनेछ ।

हाल बाराको कलैया क्षेत्रमा पनि वीरगन्ज सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएकामा प्रसौनी सबस्टेसन सम्पन्न भएपछि त्यहींबाट आपूर्ति दिइनेछ । यसबाट वीरगन्ज सबस्टेसनको भार पनि घट्नेछ । प्रसौनी सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ केभी र ११ केभीका ५/५ वटा फिडर रहने व्यवस्था गरिएको छ ।

बारा-पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ,वीरगन्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायत क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक रुपमा बनाउन लागिरहेको छ ।

वीरगन्ज क्षेत्रका उद्योगहरुले १३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माण अगाडि बढाइएको हो । वीरगन्ज क्षेत्रको विद्युत्‌को बढ्दो औद्योगिक माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी अर्को प्रसारण लाइन र पोखरिया सबस्टेसन निर्माण अगाडि बढाइएको छ ।

हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई रमौली हुँदै पोखरियामा पुर्याउने गरी अर्को आयोजना सुरु गरिएको छ । प्रस्तावित उक्त ४०० केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुने छ ।

निजगढ, रमौली र पोखरियामा गरी ४०० केभीका तीनवटा सबस्टेसन निर्माण गरिनेछ । निजगढ-रमौली-पोखरिया प्रसारण लाइनको सर्वे सम्पन्न भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा छ । रमौली सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भइसकेको छ ।

निजगढ सबस्टेसन भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिनेछ । निजगढ-रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेसन एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिनेछ ।

सिमरास्थित विशेष अर्थिक क्षेत्र (सेज), डुमरवानालगायत क्षेत्रलाई लक्षित गरी औरही-सिमरा १३२ केभी प्रसारण लाइन निर्माण अगाडि बढाइएको छ ।