काठमाडौं, चैत १० :

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्‍त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताएका छन् ।

नेपाल सरकारको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपलब्ध स्रोत-साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्‍त हुने बताए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने उल्लेख गरे ।

उनले आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावनाबमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअनुसारका काम-कारबाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्‍वास लिएको बताए ।

त्यस अवसरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिसमक्ष नेपाल सरकारको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।