
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्र्याइँ भइरहेको गुनासो आएपछि प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको छ ।
उहाँले शनिबार राति ११ बजे मधेस स्वास्थ्य विज्ञान जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, प्रसूति गृह, अति सघन कक्षलगायत निरीक्षण गरी ‘ड्युटी’ मा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधिबारे जानकारी लिनुभएको हो ।
मुख्यमन्त्री सिंहले त्यहाँ कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरवाही नगर्न समेत निर्देशन दिनुभयो ।
मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक र उचित औषधि राख्न, सूचीअनुसार औषधि अभाव हुन नदिन आग्रह गर्दै बिरामी र तिनका कुरुवासँग अस्पतालका सेवा सुविधाबारे जानकारी लिनुभयो ।