
मध्य म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पपछि थाइल्यान्डको बैंककमा भत्किएको भवन स्थल हेर्दै मानिसहरू । एन वाङ/रोयटर्स
म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जीएफजेड भू-विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो भएको बताएका छन् ।
स्थानीय समयअनुसार दिउँसो १:३० बजे भूकम्प गएको हो । तत्काल कुनै क्षति वा हताहतको खबर आएको छैन । भूकम्प यति शक्तिशाली थियो कि केही अग्लो उचाइमा भूकम्पले हल्लाउँदा तालबाट पानी बाहिर निस्किएको थियो । यस भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु मध्य म्यानमारको मोन्याउ सहरबाट करिब ५० किलोमिटर पूर्वमा थियो । गृहयुद्धको बीचमा रहेको म्यानमारमा भूकम्पको प्रभावको तत्काल कुनै रिपोर्ट आएको छैन ।
यसैगरी, म्यानमारको ‘म्यानमार नाउ’ का अनुसार, मन्डलेको ऐतिहासिक मन्डले दरबारको केही भाग गम्भीररूपमा क्षतिग्रस्त भएको छ । उही समयमा सागाइङ क्षेत्रको सागाइङ टाउनसिपमा रहेको एउटा पुल भूकम्पमा पूर्णरूपमा ध्वस्त भएको छ ।
नजिकैका अन्य सहरहरू, जस्तै क्याउक्से, प्यिन ओओ ल्विन र श्वेबोमा पनि भूकम्पबाट क्षति पुगेको छ । साथै थाइल्यान्ड, भारत र चीनलगायत छिमेकी मुलुकमा भूकम्पको झट्का महसुस गरिएको छ । -रासस/एपी