काठमाडौँ, चैत २० :

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा आजदेखि अग्रज कलाकारहरूको सहभागितामा ‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरू भएको छ ।

नक्सालमा प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले नेपालका लिपिहरू हराइएकोमा चिन्ता प्रकट गर्दै त्यसको संरक्षण जरूरी रहेको बताइन् ।

प्रदर्शनीमा राखिएका कलाकृतिमा क्रान्ति, स्नेह, भविष्य, इतिहास, वर्तमानका कुरा रहेको आभास आफूले पाएको बताउँदै उनले आर्ट गर्ने, इतिहास, लिपिसँग चासो राख्नेलाई समेट्दै जानुपर्नेमा जोड दिइन् ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अक्षर आफैँमा एक अक्षर मात्र नभएको र यसले भाव व्यक्त गर्ने तथा कलाको सौन्दर्यलाई प्रकट गर्ने बताए ।

उनले अक्षरलाई रङ, रेखा र आकारसँग जोडेर विम्बिकरण गरी सूचना सम्प्रेषण गर्न सकिने र लालित्यको दृष्टिले पनि अक्षरलाई सम्बोधन गर्न सकिने बताउँदै यस कार्यक्रम सुरूआती भएको र आगामी दिनमा अझ परिष्कृत रूपमा बढ्ने बताए । 

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले करिब ४ हजार वर्षअघि मेसोपोटामियामा विकास भएको ध्वनि प्रतीक चिह्न नै आजको लिपिको प्रारम्भिक रूप भएको बताए । उनले नेपालका अन्य लिपिलाई समेत समेट्दै कार्यक्रमको अर्को संस्करण बृहत् बनाउने धारणा राखे ।

बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले आजको युगमा अक्षरबिनाको केहीको कल्पना नै गर्न नसकिने बताए । 

चैत २५ गतेसम्म चल्ने प्रदर्शनीमा नारदमणि हार्तम्छाली, किरण मानन्धर, केके कर्माचार्य, वत्सगोपाल वैद्य, मदन चित्रकार, राधेश्याम मुल्मी, लालकाजी लामा, पाल्साङ्मो लामा, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा, अरूणा हिङमाङलगायतले सहभागिता रहेको छ ।