
नेपालगञ्जको बीपी चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)द्वारा आयोजित विरोध प्रदर्शनको क्रममा बीपी कोइरालाको शालिकमा कालोमोसो दलिएको घटनाले राजनीतिक माहोल तातेको छ। उक्त घटनाप्रति नेपाली कांग्रेस बाँकेले तीव्र आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ भने राप्रपाले माफी माग्दै घटनालाई भवितव्य भएको बताएको छ।
शनिबार नेपालगञ्जमा राप्रपा नगर समितिको आह्वानमा आयोजित प्रदर्शनमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमशेर राणालगायत नेताहरूको रिहाइको माग गरिएको थियो। ती नेताहरू चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजसंस्था समर्थक प्रदर्शनपछिको पक्राउका कारण थुनामा परेका थिए।
प्रदर्शनका क्रममा बीपी चोकमा रहेको शालिकमा कालोमोसो दलिएको र कालो कपडाले ढाकिएको घटनाले जनमतमा तीव्र प्रतिक्रिया ल्याएको छ। नेपाली कांग्रेस बाँकेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यलाई अमानवीय, असहिष्णु र असभ्य भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। कांग्रेसले दोषी पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ।
यता राप्रपा नेपालगञ्ज नगर समितिले आइतबार विज्ञप्ति जारी गर्दै शालिकमा भएको घटनालाई भवितव्य भन्दै माफी मागेको छ। विज्ञप्तिमा भनिएको छ, ‘सबै नेपालीका साझा नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ। सो घटनाबाट कसैको आस्थामा ठेस पुगेकोमा हामी क्षमाप्रार्थी छौं।’
राजनीतिक मागसहितको प्रदर्शनका क्रममा यस्ता संवेदनशील विषयमा भएको घटनाले दलहरूबीचको परिपक्वता, सहिष्णुता र लोकतान्त्रिक संस्कृतिको प्रश्न समेत उठाएको छ।