डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
गएराति जिल्लाको सायल गाउँपालिका- ६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङबाट लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै, बझाङमा पनि चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बुधबार साँझ वित्थडचिर गाउँपालिका- ३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
जिल्लामा लगातार पानी र अझै चट्यानको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरेका छन् ।