काठमाडौं, वैशाख २ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू फोहोरी राजनीतिको अंग बन्न होइन, सफा गर्न सक्रिय भएको स्पष्ट पारेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उनले अहिलेको सरकारमा कांग्रेसको सहभागिता रहे पनि आफूहरू सुधार र खबरदारीका लागि क्रियाशील रहेको बताए ।

‘हामी फोहोर सफा गर्न पोखरीमा पसेका हौं । कहिलेकाहीँ बाहिरबाट हेर्दा हामी पनि फोहोरमा मिसिएको जस्तो देखिन्छ,’ थापाले भने, ‘तर हामी फोहोरको हिस्सा होइनौं । हामी सफा गर्न गएका हौं ।’

उनले कांग्रेस अहिले सरकारभित्र रहे पनि ‘गुड गभर्नेन्स’ कायम गर्न र सरकारको प्रदर्शन सुधार गर्न निरन्तर खबरदारी गरिरहेको बताए ।

‘हामीले व्यवस्था बदल्यौं, तर अवस्था बदलिएन । किन ? नेतृत्वको शैलीका कारणले । म पनि त्यसैको हिस्सा हुँ,’ उनले भने, ‘सम्झाएर बुझाएर नेतृत्वको शैली बदल्न सकियो भने अवस्था बदलिन्छ । नसके नेता बदल्नुपर्ने हुन्छ ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य-मान्यताअनुसार नागरिकको अवस्था सुधार गर्न नेतृत्वको सोच र व्यवहार परिवर्तन अपरिहार्य रहेको धारणा राखे ।

थापाले थपे, ‘समस्या नेतामा छ । यदि नेता परिवर्तन गर्दा समाधान हुन्छ भने त्यो परिवर्तन गर्न हिचकिचाउनु हुँदैन । तर समस्या समाधान अन्य उपायबाट हुन्छ भने त्यो पनि खोज्नुपर्छ ।’

महामन्त्री थापाले पार्टी र सरकार दुवैले सुधारको बाटो लिन नसके जनताले विकल्प खोज्ने अवस्था आउने चेतावनी पनि दिए ।

साथै उनले प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको समेत टिप्पणी गरेका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे थापाले पहिले पहिले सरकारले कसलाई बनाउला भनेर चर्चा हुने गरेको सुनाउँदै अहिले विचौलियाको समूहले कसलाई गभर्नर बनाउने भनेर खुला बहस, छलफल हुने स्थिति आउनु नराम्रो भएको धारणा व्यक्त गरे । थापाले अहिले अर्थतन्त्रमा बिचौलियाका कारण समस्या आएको धारणा राखे ।