सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले आयोजना गरेको तीनदिने हाडजोर्नी, नशा तथा फिजियोथेरापी निःशुल्क शिविरमा ३१० बिरामीले सेवा लिएका छन् ।
यसमा ७१ जना हड्डी खिइएका बिरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना बुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका, २८ जना पैताला दुख्ने, पोल्ने भएका, ३१ जना बाथरोग र युरिक एसिड भएका, ९५ जना हाडजोर्नी दुख्ने समस्या भएका बिरामी थिए ।
यस्तै हड्डी खिइएर तथा नशा च्यापिएर अपरेसनका गर्नुपर्ने भएकाले ९ जनालाई रिफर गरिएको जनस्वास्थ्य निरीक्षक सुजन भण्डारीले जानकारी दिए । आएका बिरामीहरुमध्ये २८० जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको थियो ।
प्रवर्धन केन्द्रमा फिजियोथेरापी सेवा नियमित चलिरहेको छ । दैनिक २० जनासम्मले सेवा लिइरहेका छन् । भण्डारीले भने, ‘पहिले दुख्ने पोल्ने समस्या पाको उमेरसँग जोडेर हेर्ने गरिन्थ्यो । खानपान र जीवनशैलीका कारण अहिले युवा र प्रौढहरुमा पनि समस्या देखिएको छ ।’
काठमाडौं महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट प्रवर्धनात्मक स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क फिजियोथेरापी सेवा प्रदान गरिरहेका छन् ।