
आन्दोलनरत शिक्षकहरूले आज(बिहीबार) रक्तदान गरेका छन्। शिक्षा ऐन लिएरै फर्कने अडानसहित २३ दिनदेखि आन्दोलनरत शिक्षकहरूले रक्तदान गरेका हुन् ।
काठमाडौँको बिजुलीबजारमा भएको कार्यक्रममा शिक्षक-शिक्षिकाहरुले रक्तदान गरेका थिए।
आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल शिक्षक महासङ्घले नै रक्तदान कार्यक्रमको आयोजना गरेको हो। उनीहरु तीन हप्तादेखि अनिश्चितकालीन सडक आन्दोलन गर्दै आएका शिक्षकहरुको आजको कार्यक्रम भने अघिल्ला दिनका भन्दा फरक रहयो । शिक्षकहरुले सडकमा नाचगान, जादु देखाएर रमाइलो मात्र गरेका छैनन् रक्तदान गरेर जीवन दान दिएका छन् । रगतको अभाव भइरहेको समयमा शिक्षकहरुले गरेको रक्तदानले पनिकेही राहत मिलेको छ ।
नवनियुक्त शिक्षामन्त्रीले आफूहरुको मागलाई कसरी सम्बोधन गर्लान् भनेर शिक्षकहरुले हेरेर बसेका छन् । शिक्षकको आन्दोलनकै कारण अघिल्लो शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनु पर्यो । यसर्थ नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तका लागि पनि चुनौती भएको छ ।