
महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला-टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो ।
सेनाले व्यास गाउँपालिका १ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका ३, तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो ।
दार्चुला-टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ । व्यास गाउँपालिका ३, तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले हालसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ०८०/८१ मा १३.४ किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ । चालु आर्थिक वर्षमा एक दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको तथा एक दशमलव दुई किलोमिटर स्तरोन्नति भएको छ ।
बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन । चालु आवमा नौ करोड रुपैयाँ मात्र प्राप्त भएको थियो । बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप पाँच करोड रुपैयाँ व्यवस्था गरेको उनले जानकारी दिए ।
पछिल्लोपटक प्राप्त बजेटबाट व्यास गाउँपालिका १, छाङरुमा क्याम्प निर्माण, स्काभेटर, कम्प्रेसर मेसिन जिलेटिनलगायत अत्यावश्यक उपकरण र अन्य निर्माण सामग्री ढुवानीमा सेना जुटेको छ ।
नेपाली सेनाले कडा चट्टानी भाग रहेको तुसारपानी नजिक फतङगाडमा २०० मिटर ट्रयाक खोलेको छ । व्यास गाउँपालिका २, आतुङ्ती क्षेत्रमा ५०० मिटर र तम्बाकु क्षेत्रमा ५०० मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ ।
अझै तल्लो क्षेत्रमा यो वर्ष तम्बाकु क्षेत्र जोड्ने गरी २०० मिटर ट्याक खुलाउने काम भइरहेको सैनिक प्रवक्ताले जानकारी दिए । ‘दुवैतर्फबाट सडक जोड्ने गरी निर्माण भइरहेको छ,’ उनले भने, ‘छाङ्गरुबाट यो वर्ष दुई किलोमिटर ट्रयाक खुल्छ । माथिल्लो क्षेत्रमा कडा चट्टान नभएका कारण ट्रयाक खोल्न तुलनात्मक रूपमा सहज हुन्छ ।’
व्यास गाउँपालिका ३, तुसारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण कार्य भइरहेको बताइएको छ । सेनाले सडक निर्माणको जिम्मा लिएको सडकखण्डको शून्यविन्दुदेखि पाँच किलोमिटर सडकमा माघ अन्तिम सातादेखि सवारीसाधन सञ्चालन भएका छन् । यो सडकअन्तर्गत तुसारपानीदेखि मालगाउँसम्म गाडीमा यात्रा गर्न सकिन्छ ।
आर्थिक वर्ष ०७७/७८ देखि सडक निर्माण थालेको सेनाले हालसम्म १५ किलोमिटर ट्रयाक खोलेको छ । बजेट अभावकै कारण पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा नभएको निर्माणमा संलग्न एक इन्जिनियरले बताए ।
उपकरण ढुवानी नहुन्जेल व्यास गाउँपालिका २ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ । तीनचार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन् ।
व्यास गाउँपालिका १ का टिङ्करका वडासदस्य हितेश बुढाथोकी सेनाले ढिलै भए पनि दुवैतर्फबाट काम थालेकोमा खुसी जनाए । पर्याप्त बजेट व्यवस्था हुनुपर्नेमा उनको जोड छ । उक्त वडाका अध्यक्ष अशोकसिंह बोहराको पनि यही माग छ । गत फागुनमा प्राप्त पाँच करोड रुपैयाँ अपर्याप्त भएको उनले बताए । प्राथमिकताका साथ पर्याप्त बजेट विनियोजन गरेर यो सडक बनाउनुपर्ने उनले बताए ।
यसैबीच, यही वैशाख २२ गते पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर तुसारपानी-टिङ्कर सडकका निम्ति कम्तीमा ५० करोड बजेट विनियोजन हुनुपर्ने माग गरेको छ । भारतले लिपुलेक-कालापानी सडकलाई दुई लेन बनाइरहेका बेला हाम्रातर्फ ट्रयाक खुलाउन बजेटको सुनिश्चिता हुनुपर्नेमा जोड दिइएको नेता ठगुन्नाले जनाए । -रासस