
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गरेकी छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा शुभकामना आदानप्रदानपछि दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, विकास सहयोगलगायत विषयमा संवाद भएको यादवको सचिवालयले जनाएको छ ।
‘नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र हो । सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वेबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रही आएको छ,’ भेटका क्रममा यादवले स्मरण गरे । उनले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरु रहेको बताए ।
‘विकास साझेदारका रुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ,’ उनले भने, ‘नर्वे सरकारले विशेषगरी नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा गरेका कामहरु हाम्रा लागि उपयोगी छन् ।’
उपराष्ट्रपति यादवले नर्वेले बहुपक्षीय मञ्चहरुमा, अन्तर्राष्ट्रिय मुद्दाहरुजस्तै राष्ट्रसंघीय शान्ति कार्य तथा जलवायु परिवर्तनजस्ता क्षेत्रमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आपसी हितका विषयहरुमा दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा हाम्रो सहकार्य निरन्तर कायम रहने विश्वास व्यक्त गरे ।
‘जलवायु परिवर्तनलगायत विश्व परिवेशमा देखा पर्नसक्ने अन्य जल्दाबल्दा मुद्दामा केन्द्रित रही विश्वस्तरमा बहस चलाउने उद्देश्यका साथ नेपालले सगरमाथा संवादका लागि संवाद मञ्च स्थापना गरेको छ,’ उनले भने, ‘उक्त संवाद मञ्चको पहिलो संस्करण १६-१८ मे २०२५ सम्म काठमाडौंमा- जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य विषयमा आयोजना हुने भएकाले त्यसमा नर्वेबाट उच्चस्तरको सहभागिता रहने अपेक्षा छ ।’
उपराष्ट्रपति यादवले राजदूतमार्फत नर्वेको संविधान र राष्ट्रिय दिवसका अवसरमा नर्वेली जनताको सुख, शान्ति र समृद्धिका लागि शुभकामनासमेत व्यक्त गरे ।
राजदूत तोरुन ड्रामडलले नेपालसँग नर्वेको मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रही आएको बताइन् । ‘नेपालको विकासमा नर्वे प्रमुख विकास साझेदारमध्येको एक हो,’ उनले भनिन्, ‘नर्वेले नेपालको जलविद्युत्, हरित ऊर्जालगायतका क्षेत्रमा सहयोग गरिरहेको छ ।’
राजदूत ड्रामडलले नेपालको मौलिक पहिचानसहितको सांस्कृतिक विविधता अतुलनीय रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा यी सांस्कृतिक विविधतालाई अत्यन्तै नजिकबाट अवलोकन गर्न पाउँदा खुसी लागेको बताइन् । उनले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद प्रशंसनीय कार्य भएको जनाउँदै उक्त संवादमा नर्वेको सक्रिय सहभागिता रहने विश्वास दिलाइन् ।