
काठमाडौँको गौशालामा यात्रुवाहक बस अनियन्त्रित भई सात सवारीसाधनलाई ठक्कर दिएको छ। गौशालाबाट एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई सडकमा गुडिरहेका ७ वटा सवारीसाधनलाई बुधबार ठक्कर दिएको थियो ।
दुर्घटनामा तीनजना घाइते भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए । दुर्घटनामा घाइते हुनेमा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई काठमाडौँको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका-२ भई हाल टोखा बस्ने २२ वर्षीय विकाश कट्टेल र खोटाङ हलेसी टुवाचुङ नगरपालिका-५ घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई रहेका छन् ।
बसले ठक्कर दिँदा एउटा माइक्रोबस, तीनवटा कार ,दुईवटा मोटरसाइकल र एउटा स्कुटरमा क्षति पुगेको छ । क्षति हुने सवारीसाधनमा बा.५ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र-०१-०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा.१६च ४४५२ नम्बरको कार, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, बा.५१प २२ नम्बरको मोटरसाइकल, बा.प्र-०२-०४६ प ४८१९ नम्बरको स्कुटर रहेको प्रहरीले जनाएको छ । बसका चालक फरार रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बोहोराले जानकारी दिए ।