कैलाली, जेठ ७ :

कैलालीको गोदावरी नगरपालिका–१ मा व्यथाले छट्पटिरहेकी गर्भवती महिलालाई सडकमै सुत्केरी गराउन सघाएकी प्रहरी जवान चन्द्रिका देउवा पुरस्कृत भएकी छन्।

प्रहरी चौकी खैरानामा कार्यरत देउवाले मंगलबार गोदावरीको बसन्तपुरमा सडकमा पीडित अवस्थामा भेटिएकी बझाङ थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई सुरक्षितरूपमा सुत्केरी गराउन सहयोग गरेकी थिइन्।

उनको सहायतामा आचार्यलाई पद्मा अस्पतालसम्म सुरक्षितरूपमा पुर्‍याइएको थियो। 

उक्त साहसिक र मानवीय कार्यको कदर गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले देउवालाई प्रशंसा पत्रसहित रेकर्डमा राखिनेगरी बुधबार पुरस्कृत गरेको हो।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले मानवियतापूर्ण कार्य गरेबापत देउवाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सेवामूलक भावना बोकेर काम गर्न सबै प्रहरीलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।