
जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका छन् ।
कार्यक्रममा उनले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकताबारे धारणा राखे । उनले अभियानको उद्देश्य जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने रहेको स्पष्ट पारे ।
त्यस अवसरमा जनमुक्ति सेनाका पूर्वकमान्डर तथा नेसपाका पूर्वकेन्द्रीय सदस्य जितमान पुन, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा एमालेनिकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायत नेताहरू माओवादी केन्द्र प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे । सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा गरेका कामका कारण पार्टीप्रतिको सकारात्मक लहर आएको दाबी गरे । उनले विचार, सिद्धान्त र लक्ष्यका आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान पनि गरे ।