काठमाडौं, जेठ ७ :

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेट प्रहार गरेकी छन्।

बठैक आज (बुधबार) बिहान ७:३० बजेका लागि तय गरिएको थियो। सभापति साहका अनुसार सांसद कुसारी ढिलो पुगेकी थिइन् र अनुमति नलिई बोल्न खोजेपछि विवाद भएको हो। विवादको क्रममा उनले माइक र नेमप्लेट फालेकी थिइन् ।

सांसद कुसारीले आफैंले माइक प्रहार गरेको स्वीकार गर्दै, सभापतिको व्यवहारप्रति असन्तुष्टि जनाइन्। उनले सभापति साहमाथि अनुगमन प्रक्रियामा अनियमितता र पदको दुरुपयोग गरेको आरोप पनि लगाइन्।

कुसारीले भनिन्, ‘अब या त म समितिमा बस्दिनँ, या सभापतिलाई हटाइनुपर्छ।’ उनले बिहानै बैठक राखेर महिला सांसदलाई अप्ठेरो बनाइएको समेत गुनासो गरिन्। सभापति साहले उक्त घटनाबारे छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए।