काठमाडौं, जेठ ७ :

राष्ट्रिय सभाको आजको बैठकमा ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त प्रतिवेदन पेस गरिन् ।

यसमा २६ जना सदस्यहरुले १०६ वटा बुँदाहरुमा संशोधन प्रस्ताव दर्ता गराएको र विधेयकको कार्यसूचीमा आधारित भएर १६ वटा वैठक बसेको समेत उनले जानकारी गराइन् ।

साथै विधेयकले आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज दर्ता तथा नियमन गरी पानीजहाज सेवा सुरक्षित, स्तरिय र विश्वसनीय गरिनुका साथै समुन्द्रमा सञ्चालन हुने पानीजहाजको दर्ता,सर्वे र झन्डासम्बन्धी व्यवस्था प्रभावकारी रुपमा कार्यन्वयन गर्न, समुन्द्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन सम्भव हुने र त्यसबाट देशको आर्थिक विकासमा सहयोग पुर्‍याउने लगायतका उदेश्य लिएको उनले बताइन् ।

बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक माथिल्लो सभाबाट विसं २०८० माघ २९ गते पारित भएको थियो । उक्त विधेयक प्रतिनिधिसभाबाट यही जेठ ४ गते पारित भएको हो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए ।