बागलुङ, जेठ ९ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने आश्वासन दिएका छन् । साथै उनले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको दाबीसमेत गरे ।

ताराखोला गाउँपालिकाद्वारा शुक्रबार आयोजित कार्यक्रममा दाहालले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताए ।

‘सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो, तर त्यसले सार्थकता पाउन सकेन,’ उनले भने, ‘यसपालि विशेष प्रयत्न गर्छौं । स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्त्वपूर्ण छ ।’

भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा  पनि विकासनिर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उनले बताए ।

स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप २० किलोमिटर लामो उक्त सडक चार वर्षअघि नै कालोपत्र गरिने सडकका रूपमा छनोट गरिएको थियो ।

माओवादीले सुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ  बनाएको अध्यक्ष दाहालले बताए ।