
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता यज्ञमणि न्यौपानेले पार्टीका रिक्त पदहरू तत्काल पूर्ति गर्नुपर्ने सुझाव दिएका छन्।
पार्टी सभापति रवि लामिछाने जेल पुगेपछि पार्टी नेतृत्वमा रिक्तता बढेको भन्दै न्यौपानेले उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदहरू महाधिवेशनसम्मका लागि भर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
कार्यवाहक सभापति डीपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले संसदीय दलको नेता चयन, विभाग तथा समिति गठन र शुभेच्छुक संगठनलाई पूर्णता दिनुपर्ने माग गरेका छन्।
उनले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका व्यक्तिहरूलाई पार्टीमा प्राथमिकता दिनुपर्ने र शुभेच्छुक संगठनहरूलाई भातृ संगठनको रूपमा नभइ स्वायत्त बनाइनुपर्ने उल्लेख गरेका छन्।
साथै, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीका लागि संसद र सडकबाट संघर्ष थाल्नुपर्ने प्रस्ताव पनि गरेका छन्। यसअघि अनुशासन आयोगका कार्यबाहक प्रमुख रहेका न्यौपाने हाल महामन्त्री पदको आकांक्षी छन्।