काठमाडौं, जेठ १६ :

अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक-कलामा आधारित भोजन लिपि स्वादको तेस्रो संस्करण जेठ १८ गते आइतवार काठमाडौको नेपाल हाउस हात्तीसारमा हुने भएको छ ।

नेपाली खाना प्रवर्धन अभियानले नेपाली खाना र स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । भोजन लिपि स्वाद स्वदेश तथा विदेशमा गरी एक सय भागसम्म आयोजना गर्ने तयारी रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

आफ्ना उपजहरुको बजारीकरणको लागि अभियानसँग जोडिन पनि देशभरका किसानहरुलाई आग्रह गरिएको अभियानले जनाएको छ । भोजन लिपि तेस्रो संस्करणमा सांगीतिक प्रस्तुति समेत रहने आयोजक पक्षले जनाएको छ ।

साधना कलाकेन्द्र कमलादीले सारंगी बाँसुरी र मादलको धुन प्रस्तुत गर्ने केन्द्रका संस्थापक मिलन मोक्तानले जानकारी दिनुभयो । अभियानको संयोजनमा यसअघि दुईवटा भोजनलिपि स्वाद संस्करण आयोजना गरिसकिएको छ ।

हालसम्म झापा,इलाम,पाँचथर,दोलखा,धनुषा,चितवन,नवलपरासी,बागलुङ,रोल्पा,जुम्ला लगायत ३० जिल्लाका कृषि उपजका परिकार बनाइसकिएको छ ।

नेपाली माटो र किसानसँग जोडिएको अभियानसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको नेपाल हाउस रेस्टुरेन्टका प्रमुख रुद्र शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 


भोजन लिपि स्वादमा पाक कलाका हस्ती सेफहरु गोविन्द नरसिंह केसी,गणेश ढकाल,लक्ष्मण प्रसाद भण्डारी,शिवहरि घिमिरे,पूर्ण श्रेष्ठ,अजुवी चाम्लिङ,इङ्वा सुब्बा लगायत पूराना तथा नयाँ सेफहरुको पाक कला रहने छ ।।