
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट निलम्बन गरेको छ ।
ललितपुरको विपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको समितिका संयोजक तारामान गुरुङको अध्यक्षताको बैठकले तामाङलाई अनुशासन उल्लङ्घनको कसुरमा अनुसन्धान नसकिउन्जेलसम्मका लागि सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
पार्टी नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा तामाङलाई वैशाख ७ गते स्पष्टीकरण सोधिएको थियो । उनले आफ्नो स्पष्टीकरणमा त्यस्तो अभिप्राय नरहेको बताए पनि समितिले उक्त जवाफलाई प्रारम्भिक रूपमा सन्तोषजनक र चित्तबुझ्दो नदेखिएको ठहर गरेको छ ।
तामाङलाई सभापति पदमा कायम राख्दा अनुसन्धान कार्य प्रभावित हुन सक्ने भन्दै कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ३४ (८) (ङ) र नियमावली २०७६ को नियम २८ (३) बमोजिम आजैका मितिदेखि कामकाज गर्न नपाउने गरी कारबाही गरिएको हो ।
यसैगरी अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हकमा भने सोधिएको स्पष्टीकरणको विषयलाई तामेलीमा राख्ने निर्णय गरेको छ ।
गत वैशाख २ गते खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधिए तापनि वैशाख ४ गते सम्मानित सर्वोच्च अदालतबाट भएको फैसलापश्चात् उक्त स्पष्टीकरणको औचित्य समाप्त भएकाले सो निर्णय प्रक्रियालाई तत्कालका लागि तामेलीमा राखिएको समितिले जनाएको छ ।
यसैगरी नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने विभिन्न सदस्यहरूलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने व्यक्तिहरूलाई समितिमा स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले पार्टीका महासमिति सदस्य एवं लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार (सन्तु), पूर्वकेन्द्रीय सदस्य एवं कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
त्यस्तै पार्टीको प्रदेश उपसभापति एवं लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य राजु खनाल तथा प्रदेश सदस्यहरू जङ्गीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर रायलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।