
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को २४औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने पनि दोहोर्याए । ‘हाम्रा विरोधीहरुले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन् । हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौं । प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ,’ ओलीले भने, ‘हामी अहिले सँगै सरकारमा रहेर भोलि निर्वाचनमा आ-आफ्नो प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौं, त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ । यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन ।’
प्रविधिको यस जमानामा सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीहरुले एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा पूरा गराउने अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत संग्रहको घोषणा गर्न बाध्य बनाउने यही संगठन भएको र आफूहरुले नै देशमा साँच्चैको लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको स्मरण गरे । उनले गणतन्त्रको रक्षा, सुदृढ र गतिशील तुल्याउन विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने बताए ।
यस संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवारी संगठनका रुपमा रहन ओलीले निर्देश दिए । ‘बाटोमा हिँड्दा तपाईंहरुको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाटै अनेरास्ववियु हो भनेर अरुले चिनुन् । म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनु हुँदैन,’ ओलीले निर्देशन दिए, ‘एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति छन् । पार्टीभित्र एकता हुनु हुँदैन । चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन् । मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा हामी हाम्रो लक्ष्यमा प्रभावकारी रुपमा अघि बढ्न सक्छौँ । मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदै छ । पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्ने काम हामीले गर्नु हुँदैन ।’