
साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से ९.८ अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
अघिल्लो दिन १३.६९ अंकले घटेको सेयर बजारमा झन्डै १० अर्बको सेयर किनबेच भएको थियो । आज (बिहीबार) भने झन्डै साढे १२ अर्बको कारोबार भयो । आज भने ०.३४ प्रतिशतले घटेको २,६५५.३८ अंकमा झरेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.९९ अंकले घटेर ४५४.०९ अंकमा झरेको छ ।
नेप्सेमा बिहीबार ३११ कम्पनीका एक लाख दुई हजार ८९५ पटकको कारोबारमा दुई करोड ८६ लाख सात हजार ६८५ कित्ता सेयर किनबेच भए । जसकारण कुल कारोबार रकम १२ अर्ब ५१ करोड ५३ लाख आठ हजार ९६१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा ४ वटाको सूचक बढेर बाँकी सबै घटे । सूचक बढ्नेमा फाइनान्स, जलविद्युत्, होटेल तथा पर्यटन र सामूहिक लगानी कोष समूह छन् । बाँकी सबै राताम्मे बने ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पियोर इनर्जी लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा छ । ङादीको अन्तिम कारोबार मूल्य ४०८ रुपैयाँ कायम रह्यो ।