काठमाडौं, जेठ ३० :

नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।

काठमाडौंको कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट देशभरिका प्रतिनिधिले कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पराजित गर्दै अनेरास्ववियुको नेतृत्व गर्ने अवसर पाएका छन् । कडरियाले ७३२ मत ल्याउँदा पौडेलले ७२५ मतमा चित्त बुझाए ।

यस्तै उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना शिवाकोटी विजयी भएका छन् । महासचिव दीपक धामी निर्वाचित भए । उपमहासचिवमा कमल जोशी, सचिव आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिमबाबु खान विजयी भए ।

केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला, उपाध्यक्षमा प्रवीण गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा अयोग अध्यक्षमा अञ्जली लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित भएका छन् । अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी निर्वाचित भए ।

नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट विजयी भए । उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे निर्वाचित भए । कीर्तिपुरमा जेठ २५ गतेदेखि सुरु भएको महाधिवेशनको मतदान बिहीबार सम्पन्न भएको हो ।