
नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले संसद् जस्तो जनताको आवाज मुखरित गर्ने थलो कुनै पनि बहानामा अवरुद्ध गर्नु नहुने धारणा व्यक्त गरेका छन्।
अठारौँ गणतन्त्र दिवसको अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आइतबार अवलोकनपछि बोल्दै उनले संसद्मा देखिएको गत्यारोध सहमतिबाटै अन्त्य गर्न सकिने सुझाव दिए।
पूर्वमन्त्री समेत रहेका गुरुङले कुनै पनि समस्या संवाद र सहमतिबाट समाधान गर्न सकिने भन्दै राजनीतिक दलहरूलाई संयमता अपनाउन आग्रह गरे। उनले भने, ‘संसद् जनताको आवाज उठाउने थलो हो, यसलाई बन्धन बनाउनु हुँदैन।’
तस्बिर प्रदर्शनीबारे धारणा राख्दै उनले प्रदर्शनीमा समावेश तस्बिरहरू अत्यन्तै सुन्दर र जानकारीमूलक रहेको बताए। ‘हिमाल चढ्न नपुगिकनै यहाँबाट हिमाली दृश्यहरू अवलोकन गर्न पाएको छु,’ उनले भने। साथै, उनले स्याङ्जास्थित दक्षिण एसियाकै पहिलो होमस्टे गाउँ सिरुवारी जस्ता ऐतिहासिक र सांस्कृतिक महत्वका स्थलहरू पनि प्रदर्शनीमा समेट्न सुझाव दिए।
त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटनको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिमबारे अन्तरराष्ट्रिय समुदायमा सन्देश फैलाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी दिए।
गत जेठ ११ गतेदेखि सुरू भएको उक्त प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खला, हिमाली जनजीवन र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएको छ। प्रदर्शनी आगामी असार १६ गतेसम्म चल्नेछ।