काठमाडौं, असार १३ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित छलफलमा राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघ तथा अन्य सरोकारवाला सहभागी थिए ।

कार्यक्रममा उनले चलचित्र विधेयकलाई निकै महत्त्वपूर्ण विषय भन्दै राज्यले यसको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राजनीतिक नेतृत्वले  खेल र चलचित्रजस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले खेल र चलचित्र क्षेत्रलाई महत्त्व दिएर अगाडि बढाउन प्रयास गर्दै आएको दाबी गरे । ‘म प्रधानमन्त्री भएपछिबाट खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्त्व दिँदै आएको छु ,’ उनले भने ।

चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनका रूपमा पनि लिनुपर्ने उनको धारणा थियो । ‘कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन् । चलचित्र कालजयी पनि हुन्छन्,’ उनले भने । अध्यक्ष दाहालले सामाजिक घटनाक्रम चलचित्रमा सचित्र देखिनु आवश्यक रहेको उल्लेख गरे ।

उनले विधयेकका लागि चलचित्र क्षेत्रमा कार्यरत व्यक्तिहरूका सुझावलाई महत्त्वपूर्ण हुने उल्लेख गरे । उनले भने, ‘तपाईंहरूको सुझाव ग्रहण गर्नुपर्छ । यसले विधेयकलाई सशक्त बनाउँछ ।’

शिक्षा विधेयकबारे समेत चर्चा गर्दै अध्यक्ष दाहालले संविधानको भावनाअनुसार सुधार र समावेशिताको पक्षमा आफू रहेको बताए । ‘हामी देश र जनतालाई अगाडि लैजानुपर्छ भन्नेमा  छौं । तर केही तत्त्वहरूले यसको विरोधमा  छन्,’ उनले भने । अध्यक्ष दाहालले अहिले पाइपलाइनमा रहेका विधयेकमा सहमतिको वातावरण बनाउन आफूले पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

उनले चलचित्र विधेयकलाई समावेशी, सशक्त र समाजदर्शी बनाउन सबै पक्षसँग छलफल गरेर आवश्यक संशोधन गर्न सहयोग गर्ने विश्वास दिलाए ।