काठमाण्डौं,साउन १४: निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिनुभएको छ ।संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग टुंगो भएपछि प्रधानले नाम फिर्ता लिनुभएको हो ।

संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो। उजुरीकर्ताले समितिमा आएर प्रधानले आइएनजिओमा जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक-पटक शारीरिक सम्बन्ध राखेको र आफूले दिएको जाहेरी प्रहरीले नलिएको बताएकी थिइन्।

ती उजुरीकर्ताले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि एक करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन्।

यौन दुर्व्यवहारको मुद्दामा मिलापत्र गरेका प्रधानलाई उच्च नैतिक चरित्र आवश्यक हुने निर्वाचन आयोगमा नियुक्ति गर्न संसदीय सुनुवाइ समितिका सांसदहरू हच्किएका थिए। सांसदहरु उनको नाम अनुमोदन नगर्ने अडानमा थिए।

सुनुवाइ समितिले प्रधानको उच्च नैतिक चरित्र नदेखिएको भन्दै उहालाई अनुमोदन नगर्ने अवस्था देखा परेपछि प्रधानले नाम फिर्ता लिनुभएको हो ।

उहाँले आफू निर्वाचन आयुक्त पदमा सिफारिस भए पनि बाहिर आफ्नाबारे दुष्प्रचार गरिएकाले सिफारिस गरिएको पदमा रहेर काम गर्ने हौसला र इच्छा नरहेको विवरण सहितको पत्र प्राप्त भएको सुनुवाइ समितिको समेत सचिव रहनुभएका संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बताउनुभयो ।

प्रधानले नाम फिर्ता लिने बताएपछि उहाको विषयमा निर्णय गर्न बिहान साढे ११ बजेका लागि डाकिएको बैठक अपराह्न ५ बजेका लागि सारिएको छ।