काठमाडौं, असार २३ :

प्रधानमन्त्री केपी ओलीले प्राकृतिक रुपमा सुन्दर, भौगोलिक रुपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।

नेकपा एमालेको केन्द्रीय पर्यटन तथा नागरिक उडड्यन विभागद्वारा आज (सोमबार) आयोजित ‘नेपालमा पर्यटन : अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा उनले नेपाल पर्यटन बोर्ड, पर्यटन विभागजस्त संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक (डिजिटल) शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचार गर्न आग्रह गरेका हुन् ।

‘हामीले विश्वलाई भन्न सक्नुपर्छ- बेस्सरी पैसा कमाएर मात्रै हुँदैन, वास्तविक जिन्दगी जिउनुपर्छ । साँच्चैको हिमाल कस्तो हुन्छ हेर्नुपर्छ । त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनुपर्छ,’ ओलीले भने, ‘हामीले विश्वलाई भन्न सक्नुपर्छ, हात्ती चढेर गैँडा हेर्दा थाहा हुन्छ । त्यसकारण नेपाल भ्रमण गरौँ ।’

ओलीले पर्यटन पूर्वाधार विकासका लागि सरकारले प्राथमिकता दिएको जनाउँदै पर्यटनमैत्री वातावरणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा जोड दिए । उनले धर्ममा विश्वास गर्ने नगर्ने मानिसको स्वतन्त्र अधिकार भए पनि भगवान् राम नेपालमा जन्मिएको र सीताको मरण यही भूमिका भएका जस्ता ग्रन्थहरुमा उल्लेखित कुराहरुलाई डिजिटल सामग्री बनाएर विश्वमाझ प्रचार गर्न डर मान्नु नपर्ने स्पष्ट गरे ।

‘रामको पवित्र जन्मभूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छौं भने हामीले के गरी खान्छौँ ?,’ प्रधानमन्त्री ओलीले भने, ‘विश्वामित्रले वाल्मीकिलाई हाम्रै कोसीपारि चतरा गाउँमा शिक्षा दिएका हुन् । राम-लक्ष्मणले अश्वमेघ घोडा यही भूमिमा छाडेका हुन् । दशरथ यहीँका हुन् । यही कुराहरु मैले भनेको होइन, ग्रन्थहरुमै उल्लेख छ । यस्ता विषयवस्तुलाई प्रचार गर्दा कुनै राजनीतिक दाउपेचको विषय बनाउनु पर्दैन ।’

प्रधानमन्त्री ओलीले ज्ञानको भूमि भएको, उर्बर भूमि रहेको, विद्वान पुर्खा भएको र पौरखी जनता भएको नेपाल विकसित नहुनुपर्ने कारण आफूले बुझ्न नसकेको बताए । उनले दुनियाँमा काम गर्ने जाति भनेर चिनिएको देशका नेपालीले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरख गर्न लाग्नुपर्नेमा जोडसमेत दिए ।