
नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरु बीचमा छुवाछुत कायम रहेको बताएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धेरै मानिसहरु जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताए । उनले नेपालको संरचनागत बनावटका कारण पनि छुवाछुत जस्तो सामाजिक अपराध गर्नेहरु कानुनको दायरामा आउन नसकेको बताए ।
सामाजिक अपराध भनेको जघन्य अपराध भएको उल्लेख गर्दै करोडपति र दलितकाविरुद्ध पनि छुवाछुत कायम रहेको र सांसदहरुमा दलित थाहा पाएपछि धेरै भेदभाव हुने गरेको बताए ।
उनले भने, ‘धेरै मानिसहरु जातीय छुवाछुत गरेर पनि दण्डित भएका छैनन् । यद्यपि कानुनले वर्जित गरेको छ । तर न्यायाधीशको बनावट, संरचनागत बनावट आदि कुराहरुले पनि जातीय छुवाछुत गर्ने मानिसहरु दण्डित भएका छैनन् । यस्तो अपराधमा दण्डित भएको व्यक्ति नहोस् भनेको न हो । सामाजिक अपराध भनेको जघन्य अपराध हो । करोडपति र दलितका बिरुद्ध पनि छुवाछुत भएकै छ, सांसदका विरुद्ध पनि छुवाछुत भएकै छ । हाम्रो यहाँ सांसदहरु दलित हो भन्ने आधारमा दलित थाहा पाएपछि धेरै भेदभाव छ । यस्तोमा गम्भीर नभएर हुन्छ ।’
समितिको बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले समाज परिवर्तनमा सबैले भुमिका खेल्नुपर्ने बताए । उनले छुवाछुतमुक्त समाज बनाउन आफूहरु सबै लागेको उल्लेख गरे । अझै पनि छुवाछुतको भावना राख्ने मानिसहरु समाजमा रहेको बताए ।
मन्त्री पन्तले भने, ‘हामी सबै समाज परिवर्तन गर्न लागेका मानिसहरु छौँ । छुवाछुतमुक्त समाज बनाउन लागेका मानिस छौँ । तर हाम्रो समाजको यथार्थता के हो भने अझै पनि छुवाछुतको भावना राख्ने मानिसहरु छन् । हामीले कानून बनाउँदा अपराधहरुलाई पनि क्वालिफाइ गरेका हुन्छौँ । कुन अपराध कुन श्रेणीको हो । नैतिक पतन देखिने भनेको जघन्य अपराध हुन्छन् । सबै अपराध समान श्रेणीका हुँदैनन् ।’
समितिको बैठकमा बुधबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो ।