शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन आजदेखि डोजर चलाइयो

सक्रिय न्युज · शनिबार, ६ भदौ, २०८३ मा प्रकाशित
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन आजदेखि डोजर चलाइयो
जनकपुर, भदौ ६ :

जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आजदेखि डोजर प्रयोग गरी जग्गा खाली गराउन थालेको छ ।

गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार जनकपुरधाम–४ स्थित पेठीया बजारनजिकको गोरधोइ पोखरीबाट आज बिहान अतिक्रमित संरचना हटाउन सुरु गरिएको हो । संस्थानले पटक–पटक सूचना जारी गरी संरचना आफैँ हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो ।

संस्थानले जनकपुरधामका सातवटा पोखरीको अतिक्रमणसम्बन्धी लगत सङ्कलन गरी अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको छ । ती पोखरीमा गरिएको अतिक्रमणको विवरण सङ्कलनका क्रममा कतिपय स्थानमा ठूलो मात्रामा र कतिपय स्थानमा सामान्य अतिक्रमण भएको पाइएको प्रमुख झाले बताए ।

उनका अनुसार जनकपुरधाममा गुठी संस्थानअन्तर्गत ४९ वटा पोखरी छन् । पोखरी, मठमन्दिर तथा अन्य गुठीको अतिक्रमण हटाउन गुठी संस्थानका प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले काम गरिरहेको छ ।

समितिले सङ्कलन गरेको विवरणका आधारमा प्रतिवेदन तयार गरी संस्थानको केन्द्रीय कार्यालयमा बुझाइएको छ ।

प्रमुख झाका अनुसार जनकपुरधाममा गुठी संस्थानको करिब २२ देखि २५ बिघा अतिक्रमणमा परेको अनुमान छ । रत्नसागर क्षेत्रमा मात्रै करिब नौ बिघा र बेलाकुट्टी क्षेत्रमा चार बिघाभन्दा बढी गुठी जग्गा अतिक्रमण भएको ठानिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार