काठमाडौं, साउन १४ :

साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्सेमा करेक्सन आएको छ । ४७.९३ अंकले घटेको नेप्से २९५४.१४ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १०.७५ अंकले घट्दै ५०७.८४ अंकमा झरेको छ ।

नेप्सेमा आज ३२७ वटा कम्पनीको एक लाख ४१ हजार ५२० पटकको कारोबारमा तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच भए । जसअनुसार आज १६ अर्ब ४४ करोड १३ लाख ४५ हजार ४०८ रुपैयाँबराबरको कारोबार भएको छ ।

राताम्मे बनेको सेयरबजारमा आज २२६ कम्पनीको सेयर मूल्य घट्दा २३ वटा कम्पनीको सेयर मूल्य मात्र बढ्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा अन्य समूहको सूचक मात्र बढ्दा बाँकी सबै घटे ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा सान्भी इनर्जी लिमिटेड परेको छ । यसको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

यसैगरी बढी गुमाउने कम्पनीको पहिलो सूचीमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता १२४७.६२ रुपैयाँ कायम रह्यो ।

नेप्सेमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार सर्वाधिक भएको छ । हिमालयनको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १०८३.१० रुपैयाँमा रह्यो । यसको एक अर्ब ३२ करोड १२ लाख १८ हजार १९५ रुपैयाँको सेयर कारोबार भएको छ ।