बागलुङ, साउन १५ :

बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो ।

पदमार्ग आसपास र बुकीपानमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ ।  पाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घिउ तथा भेडाको मासु खपत हुन थालेको र यसले आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन् । पर्यटकलाई भैँसीको दूधसँगै खीर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालिएको  गोठालाहरूको भनाइ छ ।  

बुकीपाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विक चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताउँछन् । ‘पहिला त ढोरपाटन ल्याएर घिउ बिक्री गरिन्थ्यो, मही फालिन्थ्यो । हाल बर्खामा पनि पर्यटक भरिभराउ छन, मोहीसमेत बिक्री हुन्छ,’ उनले भने, ‘पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खीर पकाएर खुवाउँछु । गोठमै दूध, मोही बिक्री भएपछि बोकेर ढोरपाटन जानै पर्दैन ।’

बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईले पनि राम्रो आम्दानी गरिरहेका छन् । बुकी उक्लनेलाई प्रतिगिलास १०० रुपैयाँमा चिया बिक्री गर्दै आएको उनको भनाइ छ । दूधको चिया खपत भएपछि घिउ र दही बनाउने झन्झट नभएको कुमाईले बताए ।

उनको गोठमा एकै दिन एक सय गिलाससम्म चिया खपत हुने गर्छ । तीनवटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाईको घुम्ती गोठ पदयात्रा गर्ने छेउमै भएकाले असारयता दूध र चिया निकै खपत भएको हो । ‘बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मीठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो सिजनमा घिउ बनाउन आवश्यक छैन,’ उनले भने, ‘पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला-पहिला खेर जाने मोही पनि हाल महँगो मूल्यमा बिक्री हुन्छ ।’

ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि यसपटक बुकीपाटन गुल्जार बनेको छ । प्रचार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी, घरबास र गोठमा बस्ने पर्यटकका कारण आयआर्जनमा सघाउ पुगेको हो । 

ढोरपाटन सिकार आरक्षमा पहिले सिकार खेल्न विदेशी पर्यटक मात्र आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पनि यहाँ आउने गरेका छन् । समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।