काठमाडौं, भदौ ४ :

पछिल्लो समय नेपालमा जापानिज इन्सेफ्लाइटिस (जे.ई.) संक्रमणले भयावह रुप लिँदै गएको छ ।

जापानिज इन्सेफ्लाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यो लामखुट्टे डेंगीजस्तै बिहान तथा बेलुकाको समयमा बढी सक्रिय हुने गर्छ । नेपालमा यसको संक्रमणले विशेषत: साउनदेखि कात्तिकसम्म बढी प्रभाव पार्दै आएको छ ।

सक्रिय न्युजसँग कुराकानी गर्दै डा. पुनले हरेक वर्ष नेपालमा अघिल्लो वर्षको तुलनामा जेई संक्रमित र संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । त्यसमध्ये बालबालिका बढी प्रभावित हुने गरेको उनको अनुभव छ ।

स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार यो वर्ष अर्थात् सन् २०२५ को यो अवधिसम्म आइपुग्दा नेपालमा ६३ जनामा यसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ । संक्रमणबाट ज्यान गुमाउनेमा चितवनका तीन तथा तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एकजना रहेको स्वास्थ्य सेवा विभागको तथ्यांक छ ।

डा. पुनका अनुसार नेपालमा जेईविरुद्धको खोप नलगाएकामा संक्रमणको जोखिम उच्च छ । जेई संक्रमणबारेमा आम जनस्तरमा व्यापक सचेतना फैलाउन आवश्यक रहे पनि सरकार भने हरेक वर्ष चुकिरहेको छ ।

धानबाली, दलदल र पानी जम्ने ठाउँ लामखुट्टेका लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम बढी हुने गरेकाले सावधानी अपनाउन उनको सुझाव छ ।

खासगरी यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगर-बंगुरजस्ता जनावरलाई टोकेका संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा भने नसर्ने पुनको भनाइ छ । डा. पुनले जापानिज इन्सेफलाइटिस् गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुने भएकाले सतर्कता अपनाउन अपरिहार्य रहेको बताउँछन् । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गरेकोले थप जोखिम बढाएको पुनको भनाइ छ ।

नेपालमा अघिल्लो वर्ष सन् २०२४ मा जापानिज इन्सेफ्लाइटिसबाट २५ जनाको ज्यान गएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो । अहिलेसम्म देशभरका ८२ प्रतिशत बालबालिकालाई यो खोप लगाइसकिएको छ । तर पनि हरेक वर्ष यसको जोखिम बढ्दै गएकाले यसप्रति राज्य जवाफदेही नबन्ने हो भने यसले आगामी दिनहरुमा थप विकराल अवस्था निम्त्याउने पुनको भनाइ छ।

डेंगी संक्रमणले थपियो चुनौती
यस्तै डा. पुनका अनुसार नेपालमा डेंगी संक्रमणले पनि उत्तिकै चुनौती थप्दै गएको छ । डेंगी संक्रमण पनि पुसयता देशभरका ७४ जिल्लामा फैलिसकेको छ । करिब ३ हजारजनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ ।

डा. पुनले मनसुनको मौसममा पानी जम्ने स्थल र सरसफाइमा कमीका कारण संक्रमण तीव्र गतिमा फैलिने गरेको र यसको तथ्यांक र जोखिम पनि हरेक वर्ष निरनतर उकालो लाग्दै गएको छ । डेंगी संक्रमण लामखुट्टेको टोकाइबाट फैलिने रोग हो ।

सामान्यत: एडिस एजिप्टी प्रजातिको लामखुट्टेमार्फत संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा संक्रमण फैलिन्छ । डा. पुनका अनुसार डेंगीका सामान्य लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, आँखाभन्दा पछाडि दुख्ने, स्नायु र मांसपेशी दुख्नेलगायत लक्षण देखिन्छ ।

गम्भीर अवस्थामा रक्तस्राव, प्लेटलेट घट्ने समस्या र शरीरमा असर पुर्‍याउन सक्छ भने समयमै उपचार नपाए संक्रमितको मृत्युसमेत हुनेभएकोले सावधानी अपनाउन डा. पुनको सुझाव छ ।

यस्तै पुनले विशेषगरी घर वरिपरि पानी जम्ने स्थान हटाउने, पानीको भाँडा, फूलदानी वा ट्यांकीमा समय-समयमा सफा गर्ने, लामखुट्टे नियन्त्रणका लागि तेल वा बालुवा हाल्ने, लामखुट्टे नजिकिन नदिन मच्छरदानी र रिपेलिन्ट प्रयोग गर्नेजस्ता उपाय अपनाउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

तलको  भिडियोमा हेर्नुहोस् पुनसँग गरिएको कुराकानी :