काठमाडौं, भदौ ६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूले सदनमा गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा रास्वपाकी सचेतक निशा डाँगीले आफूहरूले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यास विरुद्धको कदम भनेर चित्रण गर्न खोजेकामा आपत्ति जनाइन् ।

‘संसद् बहिष्कार कुनै संविधानविरोधी अभ्यास होइन । यो त लोकतन्त्र भित्रको असहमतिको औपचारिक शैली हो, जुन विगतमा स्वयं आज सत्तामा बसेकाहरूले पटक-पटक प्रयोग गरेका छन्,’ डाँगीले भनिन्, ‘हाम्रो आन्दोलन र बहिष्कार मूलतः सत्ता पक्षलाई खबरदारी गर्न र नेपाली जनताहरूको आवाजलाई यस सदनमा प्रतिनिधित्व गर्न हो ।’

डाँगीले लोकतन्त्र केवल सङ्ख्याको बलमा सरकार चलाउने नाम नभई प्रतिपक्षको आवाज सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने कुरा सत्ता पक्षले बिर्सन नहुने सुनाइन् ।

सरकार आफैं अपराधमा मुछिएका व्यक्तिहरूको बचाउमा लागेको आरोप लगाइन् । ‘दुई महिनाभन्दा बढी समयदेखि मानव तस्करविरुद्ध हामी निरन्तर आन्दोलन गरिरहेका छौं, तर परिणाम शून्य छ । प्रतिवेदनहरू दराजमै सजाएर राखिएका छन्,’ डाँगीले भनिन्, ‘यसपटक सरकारले आँखामा पट्टी मात्रै होइन, कानमा रुवासमेत ठोसेर बसेको छ ।’

काण्डै-काण्डबाट निस्कनै नसकेका पार्टीहरूले आफूहरुलाई थरिथरिका आरोप लगाएर नैतिकतामाथि प्रश्न उठाइरहेको उनको भनाइ छ । डाँगीले भनिन्, ‘आजभोलि भ्रष्टाचारको मुद्दाहरू र विभिन्न कालखण्डमा भएका काण्डै-काण्डबाट निस्कनै नसकेको पार्टीहरूले हामीलाई थरिथरिका आरोप लगाएर नैतिकतामाथि प्रश्न उठाइरहेका छन् ।’