
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
असोज २६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकका एजेन्डा टुंगो लगाउन देउवाले भोलि(बिहीबार) दिउँसो बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्।
कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा पनि उठिरहेको बखत डाकिएको बैठकमा त्यस विषयमा पनि छलफल हुन सक्ने जनाइएको छ । आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा जाने कि संसद् पुनर्स्थापनको मुद्दा लिएर अदालत जाने भन्ने बारेमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।
कांग्रेसमा अहिले देउवाले कार्यवाहक सभापति तोकेर आफू बिदा हुनुपर्ने वा आगामी मंसिरमा पार्टी नियमित महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ।
विशेषगरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवाज उठाइरहेका छन्। उनीहरुले विशेष महाधिवेशनका लागि देशभरका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन पनि गरिरहेका छन्। गत भदौ २४ गतेको जेनजी आन्दोलनकारीको आक्रमणपछि घाइते रहेका देउवाले अहिले पनि स्वास्थ्यकर्मीको निगरानीमै छन् ।