
नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारमा सर्वसाधारणका लागि सुनका असर्फी बिक्री नगर्ने भएको छ। टक्सार महाशाखा प्रमुख प्रतिभा अधिकारीका अनुसार, नयाँ असर्फी नछापिएकाले यसपालि बिक्री प्रक्रिया अघि नबढाइने निर्णय गरिएको हो।
‘सुनका असर्फी नभएकाले यस वर्ष बिक्री नगरिने भएको हो,’ अधिकारीले जानकारी दिइन्, ‘तर, चाँदीका सिक्का भने बिक्री भइरहेको छ, जसका लागि धनतेरस कुर्नु पर्दैन।’राष्ट्र बैंकले हाल ४ प्रकारका चाँदीका सिक्काहरू बिक्री गर्दै आएको छ।
माग उच्च, आपूर्ति कमजोर
हाल विश्व बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगिरहँदा आपूर्ति पक्ष कमजोर देखिएको छ। अधिकांश देशका केन्द्रीय बैंकहरूले सञ्चितिको रूपमा सुनको भण्डारण बढाएका कारण आपूर्तिमा चुनौती आएको जनाइएको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार रुपैयाँ नाघेको थियो।
गत वर्ष ११ किलो सुन बिक्री
गत वर्षको धनतेरसमा नेपाल राष्ट्र बैंकले ११.३ किलो सुन र १७१.५ किलो चाँदी बिक्री गरेको थियो। त्यसमध्ये २.५ ग्रामका सुनका असर्फी मात्रै ४ हजार ५ सय २० थान बिक्री भएका थिए।