
बुटवल, कात्तिक १३ :
नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार निधन भएको छ। भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि भएको विरोध कार्यक्रममा भाषणकै क्रममा उनी बेहोस भएर ढलेका थिए।
नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका उद्योगहरूको विद्युत् लाइन काटिएको विरोधमा आयोजित कार्यक्रममा गौतम उद्योगी र मजदुरको तर्फबाट वक्ताका रूपमा सहभागी भएका थिए।
उनीलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। ६५ वर्षीय गौतमको मृत्यु हृदयघातका कारण भएको हो।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन्। २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय रहेका उनका दुई छोरा र श्रीमती छन्।