काठमाडौं, मंसिर १८ :

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रका लागि करिब १० हजार स्वयंसेवक परिचालन गरिने भएको छ।

 मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा उद्घाटन तथा काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने कार्यक्रम तय भएको पार्टीका स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले जानकारी दिए।

ढकालका अनुसार बन्दसत्रका लागि ५०० स्वयंसेवक खटाइनेछ। स्वयंसेवकहरू पार्टीका २४ जनसङ्गठन तथा विभिन्न कमिटीबाट परिचालित हुनेछन् भने हालै गठन गरिएको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले समन्वय गर्नेछ।

सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलको चौरमा करिब दुई लाख जनसहभागिता हुने अनुमान गरिएको छ। पूर्वाधार निर्माण तथा मञ्च व्यवस्थापनका काम तीव्र गतिमा भइरहेको पनि बताइएको छ।

 यातायात व्यवस्थापनका लागि पूर्वबाट आउने सवारीलाई जगाती र पश्चिमबाट आउने सवारीलाई गठ्ठाघर–कमेरेटार क्षेत्रमा राखिनेछ। महाधिवेशनमा आयोजक र निर्वाचित गरी २ हजार ४०० प्रतिनिधि सहभागी रहने छन्। कार्यक्रम मङ्सिर २७ देखि २९ गतेसम्म चल्नेछ।