काठमाडौं, मंसिर १९ :

चिसोको मौसम नजिकिएसँगै मानिसहरु छालासम्बन्धी समस्याबाट पीडित र चिन्तित् हुने गरेको पाइन्छन् । विभिन्न कारणले गर्दा चिसोमा छालासम्बन्धी समस्याहरु बढ्दै जाने र छालाका बिरामीहरु थपिँदै जाने गरेको सम्बन्धित चिकित्सकहरु बताउँछन् ।

आफ्नै स-साना लापरवाही र उचित स्याहारको अभावले गर्दा छालामा समस्या देखिने र त्यसकै कारण मानिसहरु दीर्घ रोगको सिकार बन्ने गरेको कुरा छाला रोग विशेषज्ञहरु बताउँछन् । यसैक्रममा वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. पद्मा मल्लले चिसोबाट छालालाई जोगाई स्वस्थ रहन सुझाव दिएकी छन् । छाला सौन्दर्यमात्र नभई स्वस्थ जीवनको पहिलो आधार हो । स्वस्थ छालाले शरीरमा लाग्ने अन्य धेरै खालका रोगहरुलाई परास्त गरी स्वस्थ शरीर प्रदान गर्दछ । प्रस्तुत छ ,  डा. पद्मा मल्लसँग सक्रीय न्युजले गरेको गरेको कुराकानीको सम्पादित अंश:

छालासम्बन्धी कस्ता कस्ता खालका समस्याहरु प्रायः देखा पर्छन् ?

छालामा व्याक्टेरियल,फङ्गल,भाइरल इन्फेक्सनहरु हुन्छन् । यससँगै इम्युन् तथा वातावरणसँग सम्बन्धित विभिन्न डिजिजहरुले पनि प्रभाव पारेका हुन्छन् । यस्ता विभिन्न तत्वहरुले गर्दा छालामा असर पुग्छ । छालामा सुक्खापना आउने, अस्वाभाविक रुपमा चिल्लोपना बढ्ने, घाउखटिराहरु देखापर्ने, चिलाउने, दुबी आउने जस्ता समस्याहरु प्रमुख रुपमा देखिने गर्दछन् ।

विशेष गरी चिसोले छालामा कस्ता खालका समस्या निम्त्याउन सक्छ ?

जाडो महिनामा बाहिरी वातावरणको तापक्रम न्यून हुनेगर्छ । जसको कारण छालामा देखापर्ने रोगहरु सक्रिय हुन सक्छन् । छाला फुट्ने, सुक्खा हुने लगायतका अन्य दीर्घकालीन रोगहरुपनि देखिन सक्छन् । घाम ताप्ने समयमा घामको किरण सोझै छालामा पर्दा यसबाट विभिन्न समस्याहरु निम्तिन सक्छन् । असाध्यै बाक्लो टोपी तथा उलनको कपडा लगाउँदा पनि छालामा असर पुग्न गई एलर्जीको समस्या हुन सक्छ ।

के छालामा देखिने रोगहरुलाई उमेरले पनि प्रभाव पार्छ ?

पक्कै पनि पर्छ । उमेर अनुसार मानिसको रोग प्रतिरोधात्मक क्षमता बढी वा कम हुनु त स्वाभाविक नै हो । सामान्यतः बालबालिका एवम् वृद्धहरुलाई तुलनात्मक रुपमा कुनैपनि रोगले सजिलै आक्रमण गर्न  सक्छ । बालबालिकाहरुलाई चिसोबाट लाग्ने रुघाखोकीजस्ता रोगहरुको सङ्क्रमणले गर्दा नाक, मुख, कान आदिबाट निस्कने फोहोर पदार्थहरुलाई सफा गर्ने बेलामा छालालाई इन्फेक्सन हुन सक्छ ।  उनीहरुको छाला निकै पातलो, नरम तथा कमजोर हुने भएकोले घाममा बस्दासमेत सजिलै व्याक्टेरियल इन्फेक्सनहरु हुन सक्छन्  । वृद्ध उमेरका मानिसहरुको पनि रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकोले थोरै चिसोले पनि धेरै असर पुर्याई सुक्खापना तथा फुट्ने समस्या देखा पर्छ । यदि कसैलाई सुगर तथा थाइराइडजस्ता रोगहरु छन् भने पनि सुक्खापना ज्यादा देखिन्छ । यसरी वयस्क मानिसलाई भन्दा बालबालिका वा वृद्ध उमेरका मानिसहरुमा चिसोका कारण देखिने छालासम्बन्धी रोगहरुले छिट्टै आक्रमण गर्छन्  । साथसाथै चिसोमा धेरैजसो मानिसहरुले कम मात्रामा पानी पिउने गरेको पाइन्छ । जसको कारण शरीरमा पानीको मात्रा कम भई यसको असर छालामा पर्न जान्छ ।

चिसोको कारण हत्केला तथा पैतालो फुट्नु सामान्य हो या जटिलता निम्त्याउन सक्छ ?

चिसोको कारण हत्केला वा खुट्टाका पैतालोहरु फुट्नु त सामान्य नै हुन् । तर यसो भन्दैमा अलि ध्यान दिइएन भने यसैबाट इन्फेक्सन भई अन्य समस्याहरु नदेखिएलान् भन्न सकिँदैन । हाइड्रेसनको कारण पनि छालालाई असर पुगिरहेको हुन सक्छ । यो भन्दा पनि कहिलेकाहीँ मानिसहरु अत्याधिक चिसोबाट एकैचोटी अत्याधिक तातोमा जाने (आगो ताप्ने, अन्य तातो वस्तुको समीप जाने) अथवा अत्याधिक तातोबाट चिसोमा जाने गर्दछन् । यसो गर्दा हात वा खुट्टाहरुमा, औँलाहरुमा पर्पल कलरको गिर्खाहरु  देखिन्छन् जुन चिलाउने र दुख्ने खालका हुन्छन् । यसको चाहिँ समयमा उपचार गरिएन भने या लामो समयसम्म लापरवाही गरियो भने अन्य समस्याहरु आउन सक्छन् । त्यसैले हामीले चिसोको समयमा काम गर्दा छालालाई जोगाउन पञ्जा लगाउने, घाम ताप्दा सिधै छाला तथा अनुहारमा घाम नपर्ने गरी बस्नेजस्ता कुराहरुमा ध्यान दिनु पर्छ ।

तातो पानीले नुहाउनु ठिक वा बेठिक ?

तातो पानी भन्दा पनि मन तातो पानी भन्छौँ । अर्थात्, चिसो मौसममा तातो अलि ज्यादा तातो पानीको प्रयोग गर्ने चलन हुन्छ त्यो पनि राम्रो हैन । तातोको मात्रा अलि ज्यादा भएको पानीले नुहाउँदा शारीरमा चिल्लो पदार्थ आउने, अन्य इन्फेक्सनहरु हुने आदि समस्या देखिन सक्छ । अतः मन तातो पानीले नुहाउनु चाहिँ उचित हुन्छ । यसै पनि जाडोको समयमा छिटो र छोटो समय लिएर नुहाउनु पर्ने कुरा बताइन्छ । जसलाई ‘सर्ट एन्ड स्वीट वाथ’ भन्छौँ र नुहाइसके पछि पनि शरीर पूर्ण रुपले सुक्खा हुनु अगाडी नै ‘बडि लोसन’हरु लगाउनु पर्दछ । यसले छालालाई सुक्खा हुन नदिई स्वस्थ राख्न सहयोग गर्दछ ।  

छालालाई स्वस्थ तथा सुरक्षित राख्न के कस्ता उपाय अपनाउन सकिन्छ ?

सरल भाषमा भन्नुपर्दा जाडोको समयमा धेरैजस्ता मानिसहरु हिटरजस्ता तातोपना बढाउने मेसिनहरु प्रयोग गरेर काम गर्न रुचाउँछन् । यस्ता सामग्रीहरुले हावालाई अस्वस्थ पनि बनाइदिन सक्छ त्यसैले हावा शुद्धीकरण गर्ने साधनहरुको पनि प्रयोग गर्नु अपरिहार्य छ । शरीरमा आफ्नो छालाको प्रकृति अनुसार कस्ता खालको क्रिम वा लोसनहरु लगाउँदा उपुयक्त हुन्छ भन्ने कुरामा चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । बजारमा पाइने सबैखालका क्रिम वा लोसनहरु सबैको शरीरमा सुहाउने खालका हुँदैनन् ।  हातखुट्टा र अनुहारमा लगाउने क्रिमहरु एउटै खाले हुँदैनन् । शरीरको अङ्ग र प्रकृति अनुसारको क्रिमहरु चिनेर, बुझेर प्रयोग गर्न सकिएन भने झन ठूलो समस्या देखिन सक्छ । घाम ताप्दा सिधै छालामा पर्ने गरी बस्नु हुँदैन । अत्याधिक तातो हुने गरी टोपी वा उलनको कपडाहरु लगाउनु पनि छालाको लागि राम्रो हुँदैन । सफा र नपा’छ्ने खालका कपडाहरु लगाउनु उचित हुन्छ । पज्जा वा मोजाहरु एकनाश लगाएको लगाएकै गर्दा पनि छालामा समस्या पर्छ । विहान बेलुकी सफा र मनतातो पानीले हात खुट्टाहरु धोएर मोस्टराइजर लगाउँदा छालालाई स्वस्थ राख्न मदत पुग्छ ।  धेरै समय लगाएर नुहाउनु पनि राम्रो हुन्न । लामो समयसम्म पानीको प्रयोग गर्नु हुँदैन र केही समस्या देखिए चिकित्सकको सल्लाह अनुसार अगाडि बढ्नुपर्ने हुन्छ । (डा. पद्मा मल्ल  वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ हुन्)