
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेस पनि सर्वोच्च अदालत पुगेको छ।
कांग्रेसले पूर्वमहान्यायाधिवक्ता खम्म खातीमार्फत सर्वोच्चमा रिट निवेदन दायर गरेको हो । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसद् पुनर्स्थापनाको मागसहित वारेसमार्फत खम्मजीलाई अदालत पठाएको बताए ।
यसअघि नेकपा एमालेले पनि प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गराइसकेको छ। यसमा संवैधानिक इजलासमार्फत प्रारम्भिक सुनुवाइ पनि भइसकेको छ ।सर्वोच्चले उत्त रिटमा कारण देखाउ आदेश जारी गरेको छ। पुनर्स्थापनाको माग गरी दायर गरिएको सबै रिटलाई एकै ठाउँमा राखेर अन्तिम निर्णय दिने सर्वोच्चको तयारी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच शुक्रबार भएको भेटले कांग्रेस पनि रिटमा जान तयार भएको हो। संसद् विघटनको संवैधानिकता र पुनर्स्थापनासम्बन्धी मुद्दा अब सर्वोच्च अदालतमै टुंगो लाग्नेछ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव घोषणा गरेकी हुन् ।