जुम्ला, असोज १० :

साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नुन मौज्दात रहेको छ । दसैँ तिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नुनको अभाव नहुने कार्यालयका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिनुभयो । 

जिल्ला सदरमुकाम स्थित खलङ्गा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा नून मौज्दात रहेको उहाँले बताउनुभयो । 

डिपोमा अहिले एक हजार १६० क्विन्टल नुन मौज्दात रहेको जनाइएको छ । यही असोज ६ देखि १५ गतेसम्म चन्दननाथ नगरपालिका सहित पातारासीका, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई वडाको सिफारिसका आधारमा नुन वितरण गरिएको छ । 

सिंजाको नराकोट डिपोबाट हिमा र सिंजा गाउँपालिका र गुरुचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई नुन वितरण गरिएको छ । 

यस आर्थिक वर्षमा जुम्ला सदरमुकाम सहित तीनै डिपोका लागि चार हजार क्विन्टल नुनको कोटा रहेको छ । त्यसैले जिल्लामा नुनको अभाव नहुने कार्यालय प्रमुख थापाले बताउनुभयो ।

वडाबाटै नुन वितरण गर्न आवश्यक व्यवस्था मिलाइएको छ । कार्यालयले सिंजाको नराकोट डिपो, कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपो र सदरमुकाम स्थित खलङ्गा बजारको कार्यालयबाट नुन वितरण गर्दै आएको छ ।