
नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताअघि नेतृत्व तहमा रस्साकस्सी तीव्र बनेको छ।
तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलका उम्मेदवार टुंगो लगाइरहँदा ओली समूहभित्रै असन्तुष्टि देखिन थालेको छ।
ओलीले सचिव पदमा दोहोर्याएर उम्मेदवार बन्न प्रस्ताव गरेका नेता लेखराज भट्टले सचिव पद अस्वीकार गर्ने घोषणा गरेका छन्। यसअघि नै सचिव रहेका भट्टले आफू सचिवको उम्मेदवार नबन्ने स्पष्ट पारेका छन्।
‘म सचिवको उम्मेदवार हुन्नँ,’ भट्टले भने, ‘अरु कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन।’ भट्टले उपमहासचिव पदमा आकांक्षा राख्दै आएका थिए। तर ओलीले उनलाई सचिवमै दोहोरिन प्रस्ताव गरेपछि उनले अस्वीकार गरेका हुन्।
उम्मेदवार चयनको विषयलाई लिएर ओली समूहभित्र देखिएको यो खटपटले एमाले महाधिवेशनको आन्तरिक राजनीति थप चर्किने संकेत देखिएको छ।