
कागेश्वरी मनोहरा नगरपालिका र उदार स्वयंसेवक आबद्ध सामाजिक संस्था नेपाल (सल्भ नेपाल) को सहकार्यमा सोमबार उत्कृष्ट किसान सम्मान, ‘कृषिमा विज्ञान तथा प्रविधिको प्रयोग’ विषयक अभिमुखीकरण तालिम तथा कृषि औजार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाभित्रका ५ जना उत्कृष्ट किसानलाई नगद पुरस्कारसहित सम्मान गरे।
किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नगरपालिकाभित्रका कृषक, कृषक समूह, व्यवसायिक कृषि फर्म तथा सहकारीहरूलाई ४० थान स्प्रेयर, १८ थान मिनी टिलर तथा १८ थान टनेल प्लास्टिक वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले कृषिमा आधुनिक विज्ञान तथा प्रविधिको प्रयोगमार्फत किसानको क्षमता अभिवृद्धि गर्नु नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताए।
नगरपालिकाले आगामी दिनहरूमा पनि यस्तै किसिमका कार्यक्रममार्फत कृषि क्षेत्रको विकास, किसानको हौसला अभिवृद्धि र प्रविधिमैत्री कृषि प्रवर्द्धन गर्न सहकार्यलाई निरन्तरता दिने जनाएको छ।नगरप्रमुख कार्कीको निरन्तर पहल तथा सल्भ नेपालसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याएकोमा कागेश्वरी मनोहरा नगरपालिकाले सल्भ नेपालप्रति धन्यवाद व्यक्त गरेको छ।