
कागेश्वरी मनोहरा नगरपालिकाले वडा नम्बर–७ का वडाध्यक्ष भीमसेन थापाको निधनमा शोकसभा गरेको छ।
नगरपालिकामा आज आयोजित शोकसभामा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले स्व. थापाको निधनले आफूले आधा शरीर गुमाएको जस्तो महसुस भएको भन्दै गहिरो दुःख व्यक्त गरे।
उनले स्व. थापाले नगर र वडाको विकासमा पुर्याएको योगदान स्मरण गर्दै परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे। साथै स्व. थापाको योगदानको कदर गर्दै वडामा सालिक निर्माण गर्ने र ‘भीमसेन स्मृति दिवस’ मनाउने पहल गरिने पनि उनले बताए।
त्यस अवसरमा नगरप्रमुख कार्की, उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरू र नगरपालिकाका कर्मचारीहरूको स्व. थापाको तस्बिरमा पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे।
थापाको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा गत मंसिर १८ गते निधन भएको थियो। उनी २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नम्बर–७ का वडाध्यक्षमा निर्वाचित भएका थिए।
