
जापानी लेखक काजु योशिदाद्वारा लिखित ‘अटोमेटिक फ्रिडम’ नामक पुस्तकको लोकार्पण गरिएको छ। रिकिशीद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा स्वामी डा. चिन्तामणीनाथ योगी र गण्डकी विश्वविद्यालयका पूर्वकुलपति प्रा. डा. गणेशमान गुरुङले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।
‘स्वतन्त्रताको अवस्था नै साँचो सुख हो’ भन्ने भावमा केन्द्रित पुस्तकबारे चर्चा गर्दै स्वामी डा. योगीले कृतिले विश्व शान्ति, आनन्द, सद्भाव, एकता र मित्रताको सन्देश दिने बताए। उनले मानिसले चेतनाको स्तर उकास्दै आन्तरिक स्वतन्त्रतामा रमाउन सके मात्र वास्तविक सुख प्राप्त हुने उल्लेख गरे।
कार्यक्रममा बोल्दै प्रा. डा. गणेशमान गुरुङले जीवनको आध्यात्मिक पाटो उज्यालो पार्दै अघि बढ्दा नै शान्ति र सन्तुलन प्राप्त गर्न सकिने धारणा राखे।
त्यस अवसरमा प्रा. डा. हरि शर्मा, इन्जिनियर महेश सिंह कठायत, प्रा. हरि निरोला तथा रिकिशीकी अध्यक्ष उषा गिरीले ‘अटोमेटिक फ्रिडम’ पढ्नै पर्ने विशिष्ट कृति भएको उल्लेख गर्दै लेखकले उपयोगिताको सिद्धान्तमा आधारित रहेर गहिरो दार्शनिक विषयलाई सरल ढंगले प्रस्तुत गरेको बताए।
पुस्तकका लेखक काजु योशिदाले नेपाल आएर विद्वान व्यक्तित्वहरूसँग विचार–विमर्श गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताए। उनले यो अवसरका लागि सहयोग गर्ने रिकिशी परिवारप्रति धन्यवाद व्यक्त गरे।
पुस्तकले ब्रह्माण्ड, स्वतन्त्रता, चेतना (पुरुष) र आत्माको अस्तित्वसम्बन्धी दार्शनिक सिद्धान्तहरू व्याख्या गरेको छ। कृतिको मूल सन्देश अनुसार वास्तविक स्वतन्त्रता भनेको ‘आफूले चाहेको गर्ने, जब चाहेको गर्ने’ अवस्था हो, जुन तब मात्र सम्भव हुन्छ जब ‘म’ भन्ने भ्रम (अहंकार) समाप्त भई व्यक्ति सार्वभौमिक चेतना अर्थात् पुरुषसँग एकाकार हुन्छ।
पुस्तकमा समय र स्मृति भ्रम मात्र भएको, स्वतन्त्र इच्छा परम्परागत अर्थमा अस्तित्वमा नरहेको, भावना र विचारलाई उपेक्षा गर्दै जानु नै दुःखबाट मुक्तिको बाटो भएको तथा वर्तमान क्षणको पूर्ण स्वीकार नै सुखको आधार भएको उल्लेख गरिएको छ। साथै, ब्रह्माण्ड पवित्र ज्यामितीय संरचनामा आधारित रहेको र अन्ततः सबै कुरा शून्यबाट उत्पन्न भई फेरि शून्यमै विलीन हुने दर्शन प्रस्तुत गरिएको छ।
लेखकका अनुसार मानिसको वास्तविक पहिचान अहंकार होइन, चेतनाको सार्वभौमिक रूप ‘पुरुष’ हो। यही साक्षात्कार नै पूर्ण स्वतन्त्रता, आनन्द र जीवनको सार हो।