भक्तपुर, पुस २३ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा आबद्ध नरहेको स्पष्ट पारेका छन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९औँ  स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे । प्रधानमन्त्री सुशीला कार्कीले गैरदलीय सरकारमा बसेर दलीय राजनीति गर्न नमिल्ने भन्दै मन्त्रिपरिषद्को बैठकमा खरेलसहित तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएकी थिइन् ।

खरेलसहित ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुद मन्त्री बल्लु गुप्ता रास्वपा निकट रहेको चर्चा चलेपछि प्रधानमन्त्री कार्कीले उनीहरुलाई राजीनामा दिन भनेकी छिन् । आफ्ना बारेमा विभिन्न चर्चा चल्नेगरेको भन्दै उनले चुनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताए ।  

मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको धारणा व्यक्त गरे । सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उनले आग्रह गरे ।

उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सही सूचना प्रवाह गर्न आग्रह गरे । कार्यक्रममा विभिन्न पत्रकारिता पुरस्कारहरु प्रदान गरिएको थियो ।