देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरे ।
स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माणकार्य सात वर्षअघि सुरु गरिएको थियो । विभिन्न चरणमा सम्पन्न हुँदै आएको उक्त सडकको अधिकांश खण्डमा काम सम्पन्न भइसकेको छ । केही स्थानमा कालोपत्र तथा अलाइनमेन्ट मिलाउने काम बाँकी रहे पनि अन्य खण्डमा सडक निर्माण पूरा भएको जनाइएको छ ।
उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तह आएपछि भरतपुरमा उल्लेखनीय विकासकार्य भएको बताइन् उनले भनिन्, ‘महानगरपालिकाको गौरवको प्राथमिकताप्राप्त योजनाका रूपमा हामीले यसलाई अघि बढाएका हौँ, देशकै सबैभन्दा लामो महानगरस्तरीय ‘रिङरोड’ अहिले राष्ट्रिय राजमार्ग (एनएच)का रूपमा विकास भएको छ ।’ केन्द्रीय सडकका रूपमा सूचीकृत भएसँगै अब यस सडकलाई केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर हेर्ने उनले बताए।
अरबौँ रुपैयाँको लगानीमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा यो सडक निर्माण गरिएको उनले जानकारी दिइन्। सडक पूर्ण रूपमा पक्की भइसकेको उल्लेख गर्दै उनले कतिपय स्थानमा व्यवस्थापनका काम बाँकी रहेको बताइन् । ‘जहाँ जसरी सम्भव हुन्छ, त्यसैअनुसार निर्माण गरिएको छ, जनतालाई मर्का पर्नेगरी बाटो विस्तार गरिएको छैन’, उनले स्पष्ट पारिन् ।
सडकको मापदण्ड ३० मिटर कायम गर्ने महानगरपालिकाको निर्णय रहेको र वडाबाट आएका सुझावका आधारमा छलफल गरी व्यावहारिक ढङ्गले काम अघि बढाइएको उनले बताइन् । आगामी दिनमा यस सडकलाई स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख दाहालले भरतपुरमा भौतिक विकासले फड्को मारेको उल्लेख गरिन् । उनले हजारौँ किलोमिटर सडक कालोपत्र भइसकेको जनाउँदै अब सामाजिक विकास र रोजगारी सिर्जनालाई महानगरले प्राथमिकतामा राख्ने बताइन् ।
कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको समग्र विकासमा चक्रपथले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भौतिक र सामाजिक विकासलाई सँगसँगै अघि बढाउन महानगरपालिका निरन्तर लागिपरेको जानकारी दिए।