काठमाडौं, माघ २ :

कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र सूचीकृत महिला समूहहरूका लागि कानुनी सचेतना कार्यक्रम गरेको छ । नगरपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रबार उक्त कार्यक्रम गरिएको हो ।

नगरपालिकाका उपप्रमुख शान्ता थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नगरप्रमुख उपेन्द्र कार्कीले गरेका थिए । उद्घाटन समारोहमा नगरप्रमुख कार्कीले यस्ता सचेतनामूलक कार्यक्रमहरूले महिलाको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपप्रमुख थापाले नगरपालिका क्षेत्रभित्र क्रियाशील विभिन्न महिला समूहहरूलाई थप जागरुक, सचेत तथा सक्षम बनाउन कानुनी सचेतना कार्यक्रम फलदायी हुने बताइन् । उनले महिलाहरूलाई आफ्ना हकअधिकारबारे जानकारी दिनु स्थानीय सरकारको प्राथमिकता रहेको पनि उल्लेख गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीसहित नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कागेश्वरी मनोहरा नगरपालिकाले यसअघि पनि महिला सीप विकास, क्षमता अभिवृद्धि तथा सशक्तीकरणसँग सम्बन्धित कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।